काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दरमा उच्च गतिमा गिरावट आएको छ । यसमा कोरोना परीक्षण घट्नु पनि एक कारण हो । तर, कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा समेत उच्च कमी आएका कारण समग्रमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । अब देशभर मात्र १५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाएको छ ।
साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमितले रोगलाई जित्न सफल भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३६ जना संक्रमित डिस्चार्ज भए र अब देशभर दुई लाख ६९ हजार सात सय ५५ जनाले कोरोना जित्न सफल भएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भयो । कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ५१ पुगेको छ । २४ घण्टा यता कोरोनाबाट मानवीय क्षति भने भएन ।