काठमाडौं । नेपालमा आगामी साता कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण सरकारले गरेको छ । ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन छ । नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा पुस २५ मा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको थियो ।
बुधबार भने सङ्क्रमितको सङ्ख्या ११,३०० भन्दा बढी छ। यो नेपालमा कोभिड महामारी सुरु भएपछि दैनिक पुष्टि भएको सबैभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमितको लक्षण तथा जीन सीक्वन्सिङको नतिजाका आधारमा अहिले अधिकांशमा ओमिक्रोन देखिएको बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार सङ्क्रमणको उच्चबिन्दु पुग्दा प्रयोगशालाले पुष्टि गरेका सङ्क्रमितको सङ्ख्या करिब २०,००० पुग्ने प्रक्षेपण गरिएको छ। सामाजिक गतिविधि, जनस्वास्थ्य मापदण्ड पालना गर्ने सन्दर्भ, सङ्क्रमणको गति, भाइरसको प्रवृत्ति, खोपको दायरामा आएका मानिसको सङ्ख्या जस्ता विषयलाई आधार मानेर सरकारले यस्तो अनुमान गरेको हो ।