काठमाडौं । नेपालमा एकै दिन १८ सयभन्दा बढी मानिसमा कोरोनाको परीक्षण भएको छ । सरकारले पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको हो ।
यससँगै हालसम्म करिब १३ हजार मानिसमा कोरोनाको परीक्षण भएको हो । जसबाट १६ जनामा कोरोना पुष्टी भएको छ ।
कोरोना पुष्टी भएकामध्ये १४ जना विदेशबाट आएका व्यक्ति हुने । एक जनालाई परिवारबाटै सरेको पाइएको छ । एक जनाको स्रोत भने अझै खुलेको छैन ।
वीरगन्जमा चिया पसल चलाउने एक महिनामा कैलाली पुगेपछि कोरोना देखिएको छ । उनको मुल स्रोत भने पत्ता लाग्न सकेको छैन ।
मंगलबारसम्म १२ हजार ९ सय ६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ वटा र र्यापिड टेष्ट किटमार्फत ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा मात्र नयाँ ५८४ वटा परीक्षण गरिएको छ ।
तीमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३८७ वटा र काठमाडौंबाहिर १९७ वटा परीक्षण गरिएको हो ।
र्यापिड किटबाट भने पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएको छ । अहिले देशभर ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा बसेका छन् । ९९ जना भने आइसोलेशनमा छन्।