काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ ।
उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा नेपालजस्ता कम आयस्रोत भएका गरिब मुलुकमा खोप कहिले आइपुग्छ ? आम सर्वसाधारणको चासो यसमा छ ।
यता, नेपाल सरकारले भने कोभिड विरूद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी गरिएको बताएको छ ।
विश्व प्रतिजैविक सचेतना सप्ताहका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशमा सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भइरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन नै संशोधन गरिएको उनले जानकारी दिए । अहिले परीक्षणका क्रममा रहेका भ्याक्सिन प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत् कानुन संशोधन गरिएको उनको भनाई छ ।
सरकारी र निजी दुबै क्षेत्रबाट खोप आयातको ढोका खुला गरिएको उनले जानकारी दिए । केही समय अगाडी सरकारले अर्थसचिवको नेतृत्वमा एक उच्चस्तरीय समिति समेत गठन गरेर खोप आयातको तयारी गर्न निर्देशन दिएको थियो ।