काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् ।
उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।
यस विमानबाट नेपाल आएका तीन जनामा कोरोना देखिएको छ । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको पुष्टी भएको छ ।
अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु एकसाथ बेल्जियमबाट नेपाल आएका थिए । त्यसपछि यती एयरलाइन्सको विमानबाट काठमाडौं हुँदै पोखरा पुगेका थिए ।
एकदिन पोखरा बसेपछि उनीहरु दुबैजना जिप चढेर बाग्लुङ पुगेको खुलेको छ । बागलुङ अस्पताल स्रोतकाअनुसार महिलामा दमको समस्या रहेको बताइएको छ ।
संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । सबै व्यक्ति विदेशबाट नेपाल आएका हुन् । त्यसमध्ये दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएको खुलेको छ ।