काठमाडौं । पछिल्लो एक सातामा नेपालमा औसतः दैनिक १५ सय हाराहारीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । यसले सक्रिय संक्रमितको संख्यामा कमी आउनुका साथै गम्भीर प्रकृतिका बिरामीको संख्या समेत घटेको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ३८२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार जारी छ । मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ । यस प्रदेशमा ३१ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ७५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ ।
प्रदेश २ मा ८ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार जारी छ । सुदुरपश्चिममा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आईसीयू र ९ जना भेन्टिलेटरमा रहेका छन् । कर्णाली प्रदेशमा ९ आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ । विज्ञहरुले भने नेपालमा अझै जोखिम नघेको भन्दै सचेत हुन आग्रह गरिरहेका छन् ।