काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार एरो थाइको जहाज नेपाल आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने भएको हो । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे, नगरेको परीक्षण गर्नेछ । जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ । तालिका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टीमबीच ब्रिफिङ हुनेछ । त्यसपछि भने उडान सुरु हुनेछ ।
जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसअगाडि २३ फेब्रुअरीका दिन सबै क्रु मेम्बर र प्राविधिकहरुको आरामका लागि बिदा दिइएको छ । त्यसबाहेक १८ फेब्रुअरीदेखि २७ सम्म हरेक दिनजसो जहाजले उपकरणहरुको जाँच गर्नेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरु निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।
एरो थाइको जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसपछिको १५ दिनमा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिर्पोट बुझाउने छ । यस्तो रिर्पोट आएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो जहाजबाट परीक्षण उडान गर्न सक्नेछ । नेपालमा २००६ सालमा त्रिभुवन विमानस्थल बनेयता पहिलो पटक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।