नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान

Photo Source : Sulav Shrestha/Xinhua

काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही कम देखिएको छ ।

संक्रमणदर स्थिर रहेपनि निको हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसले अस्पतालहरुका समेत मानिसहरुको अत्यधिक भिड केही कम भएको छ । साथै यो अवधिमा चीनसहितका मुलुकबाट आएको स्वास्थ्य सामग्रीका कारण मृत्युदर कम गर्न ठूलो सहयोग पुगेको छ । चीनबाट नेपाल वायुसेवा निगमको जहाजले मात्र २ हजार सिलिण्डर ल्याइसकेको छ । आज थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाल छिरेको छ ।