नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

काठमाडौं । नेपालमा सुख्खायाम शुरु भएपछि तापक्रम समेत निरन्तर बढिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेपछि देशभर मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको उच्चतम तापमान ३१‍.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार सबैभन्दा उच्च तापक्रम धरानमा ३६.७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

विराटनगरमा ३६.६ र भैरहवामा ३६.५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र अन्य भू भागमा आंशिक बदली रहने देखिएको छ । पहाडी भूभागमा कतै मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने भएको छ ।