नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् ।

कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र अवस्था पनि सामान्य रहेको उनले जानकारी दिए । उनको बारे विस्तृत विवरण खोजी कार्य जारी रहेको उनले बताए ।

मन्त्रालयले परिक्षणको दायरा बढाउने र क्वारेन्टाइनको दायरा बढाउने कामलाई उच्च प्राथमिकता दिने प्रवक्ता देवकोटाले बताए ।

यसअघि पनि नेपालमा देखिएका चार वटा संक्रमण विदेशबाट नेपाल फर्किएका नागरिक नै थिए । त्यसमध्ये एक युवती फ्रान्सबाट आएकी थिइन् ।

दुई युवा खाडी मुलुकबाट फर्केका हुन् । एक जना भने चीनबाट फर्किएका थिए । चीनबाट फर्किएका युवा भने निको भइसकेका छन् । अन्यको उपचार जारी छ ।