काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।
बुधबार नेपाल एयरलाइन्सले यस्तै गुनासो गरेको छ । नेपाली ल्यावमा गरिएको परीक्षणमा नेगेटिभ आएका यात्रुमा समेत विदेश पुगेपछि पुनः परीक्षण गर्दा कोरोना संक्रमित देखाउन थालेको कम्पनीले जनाएका छन् । यसले ल्यावको विश्वसनीयतामा प्रश्न उठ्न थालेको नेपाल एयरलाइन्सले जनाएको छ ।
अर्कोतर्फ स्वयमः यात्रु पनि पिसिआर परीक्षण गरेपछि आइसोलेसनमा बस्नु पर्छ । तर, नेपालमा भने यात्रुले स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गरेका छैनन् । ल्यावमा परीक्षण गरेर आएपछि भिडभाडमा जान पाइदैन । तर, नेपालमा त्यसको पूर्ण पालना भएको छैन । यसले स्वाव दिएपछि पनि संक्रमण भएको हुन सक्छ ।
सोहीकारण अब कुनै पनि यात्रुमा विदेश पुगेपछि कोरोना भाइरसको संक्रमण देखिएमा नेपाल एयरलाइन्स जिम्मेवार नहुने कम्पनीले स्पष्ट पारेको छ । आफ्नोतर्फबाट प्रोटोकल पालनामा कुनै कमजोरी नभएको भन्दै सबै सरोकारवालाई गम्भीर हुन समेत नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।