नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता

काठमाडौं । नेपालमा जारी वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । सरकारी अधिकारीहरुले कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि  गरेका छन् । बझाङमा दुई दर्जन मानिस बेपत्ता भएको खबर आएको छ ।

सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको स्थानीय तहबाट रिपोर्ट सार्वजनिक भएको छ । प्रहरी पुगिनसकेका कारण यकिन विवरण आइसकेको छैन । बिबिसीले गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई उदृत गर्दै लेखे अनुसार डोटी र सुनसरीमा दुई-दुई जना र कालिकोट अनि डडेलधुरा जिल्लामा एक एक जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
अन्य पाँच जना घाइते भएको बताइएको छ।
प्रहरीका अनुसार सुदुरपश्चिममा पहाडी जिल्ला जोड्ने लगभग सबै सडकहरू अवरुद्ध छन्। महेन्द्रनगरमा बढी डुबान देखिएको र महाकाली नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको छ ।

महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍याएको छ।

त्यसबाहेक बैतडी जिल्लामा सेती नदीको किनारमा रहेको एउटा गाउँ जोखिममा रहेको विवरण आएपछि करिब ६० जनाको प्रहरी टोली घटनास्थलमा गएको छ ।
बझाङ जिल्लाको सदरमुकाम समेत बाढीले प्रभावित भएको छ र त्यहाँको बसपार्कमा नदी पसेको छ ।
बझाङ जिल्लाको थलहरा गाउँपालिका वडा नम्बर ४ मा पहिरोमा परी २२ जना हराइरहेको खबर गृह मन्त्रालयमा आएको छ ।
डडेलधुरा र कञ्चनपुरमा महाकाली नदीमा फसेका गरि नौ जनाको सकुशल उद्धार गरिएको छ ।