नेपालमा भित्रिए गुड्ने अस्पताल, के हो अवधारणा ?

rss

काठमाडौं । नेपालमा पनि अब गुड्ने मिनी अस्पतालको अवधारणा भित्रिएको छ । सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स मात्र चल्दै आएको नेपालमा अब सुविधा सम्पन्न गाडीमा उपचार र डाक्टरको सुविधा उपलब्ध हुने छ । यस्ता गाडीमा अस्पतालमा प्राप्त हुने महत्त्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण उपलब्ध हुन्छ ।

त्यसभित्र छ वटा सुविधायुक्त शय्या र साथमा सीसीक्यामरा पनि जडान भएको छ । मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित देशमा प्रयोगमा भइरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता गाडीलाई नेपालमा पनि भित्र्याएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्नेसहितको सेवा प्राप्त हुने यस्तो गाडी नेपालमा पहिलोपटक भित्रिएको हो । अबका विपत्तिमा ती गाडीले सेवा थाल्नेछ र अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्नेछ ।

चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनको रूपमा चिकित्सकलाई जोडेर त्यस गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रुपमा लिइएको र विपदमा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको उनको भनाई छ । यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठ वटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि सशस्त्र प्रहरीले जिम्मेवारी प्राप्त गरेको छ ।

सरकारले गाडी मल्टी डोनर ट्रष्ट फण्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो । मुख्यतः फण्डमा अमेरिकी सहयोग नियोग (यूएसएड), बेलायती सहयोग नियोग (एमसीडीओ), क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको लगानी रहेको छ । ती गाडीहरू हरेक प्रदेशमा एक–एकवटा र केन्द्रमा एकवटा रहनेछन् ।

विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा त्यही गाडीमा राखेर उपचार गर्न सकिन्छ । गाडीभित्रै छ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।