नेपालमा लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टिकरण

काठमाडौं । पछिल्लो एक साता काठमाडौंसहितका शहरी इलाकामा विद्यूत आपूर्तिमा समस्या देखिएको छ । अकस्मात लाइन जाने र निकै बेर नआउने समस्याले उपभोक्ता हैरानीमा छन् । संचारमाध्यमले यस प्रकारको समस्यालाई अघोषित लोडसेडिङको उपमा दिएसँगै प्राधिकरण स्पष्टिकरण सार्वजनिक गर्न बाध्य भएको छ ।

प्राधिकरणले नेपालमा औपचारिक रुपमा लोडसेडिङ हटेको भन्दै अब त्यस्तो अवस्था नआउने बताएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाका अनुसार अहिले बत्ती जाने समस्या हुनुका पछाडि पुराना संरचनाको मर्मत सम्भार र कहिलेकाहीँ अचानक आउने समस्या मूख्य कारण हो । तर, विजुली जाने अन्य कारण भने छैन ।

विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदलीजस्ता प्रिभेन्टिभ (निरोधात्मक) साथै सञ्चालन र विद्युत प्रवाह भैरहेका संरचनाहरूमा आउने प्राकृतिक वा आकस्मिक समस्याहरूको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्कालै मर्मत सम्भार गरी विद्युत आपूर्ति सुचारू गर्ने गरिएको उनले जनाएका छन् ।

प्राधिकरणले विगत ३ वर्षअघि देखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको भन्दै स्पष्ट पारिएको छ ।

प्राधिकरणले पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्रणालीमा आएको प्राविधिक समस्याले भएको समेत स्पष्ट पारेको छ । यो समस्या तत्पश्चात भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभागमार्फत् निराकरण गरिसकिएको प्राधिकरणको भनाई छ ।