काठमाडौं । नेपालमा कोरोनाले घातक असर गरेको छैन । शुक्रबार मात्र ९ जना बिरामी एकै पटक डिस्चार्ज हुनुबाट पनि यसको पुष्टी भएको छ ।
शुक्रबार कोशी अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका ८ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट एक जना डिस्चार्ज भएका हुन् ।
यससँगै अब सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमण निको भएर शुक्रबार घर फर्किएसँगै सुदूरपश्चिम हाललाई कोरोना संक्रमित हुनेबाट शून्यमा झरेको हो।
यहाँ ५ जनामा कोरोना देखिएकोमा ५ जना नै निको भएर घर फर्किएका छन । यता, विराटनगरमा डिस्चार्ज भएका भने उदयपुरमा कोरोना देखिएका मानिस हुन् ।
उनीहरुमध्ये १ जना भारतीय रहेका छन् । शुक्रबार नै थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
अब नेपालमा कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुगेको छ।
नेपालगंजमा रहेको भेरी अस्पतालमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा शुक्रबार एकजनाको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित भएका व्यक्ति १६ वर्षीय पुरुष हुन् ।
नेपालमा अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला छन् । शुक्रबार डिस्चार्ज भएका ९ जनासँगै अब नेपालमा निको हुने बिरामीको संख्या ३१ पुगेको छ।