नेपालमा हिँउदे वर्षाको सम्भावना

Photo : TKP

काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ । आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए । नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२।२ डिग्री सेल्सियस छ । सोमबार योभन्दा पनि कम ९।५ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि सामान्यदेखि बदली छ ।बादल लागेको बेला हुस्सु कुहिरो नलाग्ने भएकाले अहिले हुस्सु कुहिरोको रिपोर्ट प्राप्त नभएको महाशाखाका मौसमविद लामिछानेले बताए । काठमाडौं आसपासका उच्च पहाडी भागमा पनि हिमपातको सम्भावना नरहेको उनले बताए ।