नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो । सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो। ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ। विभागले भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।