नेपालमा ५७० जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नौ हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आंकडा छ । यस अवधिमा थप एक हजार नौ सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसहित अहिलेसम्म निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार तीन सय ३० जना पुगेको छ । यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ११ जना पुगेको छ । थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।