सेरिका थापा
२४ माघ, काठमाडौं : सुनचाँदी बजारले पछिल्ला महिनाहरुमा इतिहासमै बिरलै देखिएको मूल्यको उचाइ छोएको छ । तोलाको तीन लाख रुपैयाँ नाघ्दै साढे तीन लाखतर्फ उन्मुख सुनको भाउले बजार मात्र होइन, समग्र नेपाली समाजलाई नै गहिरो प्रभाव पारेको छ । ‘अब सुन किन्न सकिएला त ?’, ‘यहीं रोकिएला कि अझै बढ्ला ?’, ‘विवाह, संस्कार कसरी गर्ने ?’ यस्ता प्रश्नहरु आज शहरदेखि गाउँसम्म, धनीदेखि मध्यम र गरिब वर्गसम्म उस्तै गुञ्जिरहेका छन् ।
नेपाली समाजमा सुन केवल धातु होइन । यो संस्कार हो, परम्परा हो, सामाजिक सुरक्षाको माध्यम हो र कठिन समयको सहारा पनि हो । तर, आज यही सुन नेपाली नागरिकको पहुँचभन्दा टाढिँदै जाँदा यसको मूल्यवृद्धिले आर्थिकभन्दा बढी सामाजिक र सांस्कृतिक बहस जन्माइरहेको छ ।
किन बढ्यो सुनको भाउ ?
सुनको मूल्य वृद्धिलाई केवल माग–आपूर्तिको सामान्य नियमबाट बुझ्नु अपूरो हुन्छ । यसको जरो अन्तर्राष्ट्रिय राजनीति, विश्व अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानसँग गहिरो रुपमा गाँसिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार हालको मूल्यवृद्धि विश्वव्यापी अस्थिरताको प्रत्यक्ष परिणाम हो ।
‘सुन सधैं सुरक्षित लगानीको प्रतीक मानिन्छ,’ उनी भन्छन्, ‘अहिले ग्रीनल्याण्ड, भेनेजुएला, इरान, युरोप र अमेरिकाबीचको टकराव, युद्धको सम्भावना, आर्थिक मन्दीको डर र मुद्रा अवमूल्यनले गर्दा विश्वभरका लगानीकर्ता जोखिमयुक्त क्षेत्रमा पैसा राख्न चाहँदैनन् । त्यसैले उनीहरु सुनतर्फ आकर्षित भएका हुन् ।’ विश्व बजारमा जब अनिश्चितता बढ्छ, लगानीकर्ता शेयर, बण्ड, क्रिप्टो जस्ता जोखिमयुक्त साधनबाट हटेर सुन जस्तो भौतिक र स्थिर सम्पत्तिमा पैसा सार्छन् । यही मनोविज्ञानले अन्तर्राष्ट्रिय बजारमा सुनको माग आकासिएको छ, जसको असर सिधै नेपालसम्म आइपुगेको छ ।

केन्द्रीय बैंकहरु नै सुनतर्फ फर्किंदै
पछिल्ला वर्षहरुमा सुनको माग व्यक्तिगत लगानीकर्ताबाट मात्र होइन, राष्ट्र–राज्यहरुबाट पनि बढिरहेको छ । धेरै देशका केन्द्रीय बैंकहरुले अमेरिकी डलरमा रहेको आफ्नो विदेशी मुद्रा सञ्चिती घटाएर सुनको भण्डारण बढाइरहेका छन् ।
डलरको दीर्घकालीन स्थायित्वप्रति बढ्दो शंका, विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन र आर्थिक नाकाबन्दीको डरले देशहरुलाई सुनतर्फ उन्मुख गराएको विश्लेषकहरुको बुझाइ छ ।
जब केन्द्रीय बैंक जस्ता ठूला खेलाडी नै बजारमा प्रवेश गर्छन्, त्यसको प्रभाव मूल्यमा पर्नु स्वाभाविक हुन्छ । ‘अहिलेको अवस्थामा सुनको मूल्य कहिले ‘ब्याक’ हुन्छ भनेर ठोकुवा गर्न सकिने अवस्था छैन,’ वज्राचार्य भन्छन्, ‘अवस्था सामान्य नहुँदासम्म यस्तै ट्रेन्ड रहन सक्छ ।’
नेपाली बजार : भाउ बढ्यो, कारोबार घट्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको चमक बढिरहँदा नेपाली बजारमा भने त्यसको अर्को पाटो देखिएको छ– कारोबारमा भारी गिरावट । व्यवसायीहरुका अनुसार अहिले नेपालमा दैनिक दुई केजी सुनको कारोबार हुन पनि मुस्किल परेको छ । कोभिड–१९ महामारी अघिसम्म दैनिक ५० केजीभन्दा बढी सुन किनबेच हुने बजार आज लगभग ठप्प जस्तै छ ।
महिनामा औसत ७५० केजी सुन खपत हुने बजारमा खपत घटेपछि आयात पनि कम गरिएको छ । पछिल्लो समय जम्मा १९३ केजी मात्र सुन आयात भइरहेको छ, त्यो पनि पूर्ण रुपमा बजारमा नगएर विभिन्न बैंकहरुमा मौज्दातका रुपमा थुप्रिएको अवस्था छ । ‘अहिले सुन किन्न आउनेभन्दा बेच्न आउने धेरै छन,’ वज्राचार्य भन्छन्, ‘मूल्य बढेकै कारण पुराना गहना बेचेर नगद बनाउने प्रवृत्ति बढेको छ ।’
नेपाल किन फरक ?
भारत, चीन वा पश्चिमी मुलुकहरुमा सुनलाई दीर्घकालीन लगानीको साधनका रुपमा हेर्ने गरिन्छ । मूल्य बढ्दा किन्ने, घट्दा पनि भण्डारण गर्ने संस्कृति त्यहाँ विकसित छ । तर, नेपालमा अवस्था फरक छ । नेपालमा सुन मुख्यतः सांस्कृतिक र पारिवारिक आवश्यकतासँग जोडिएको छ । विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, सामाजिक प्रतिष्ठा– यी सबैसँग सुन गाँसिएको छ । मूल्य बढ्दा नेपाली लगानीकर्ता सुन थुपार्नेभन्दा बेच्ने मानसिकतामा देखिन्छन् । यसले देखाउँछ कि नेपालमा सुन अझै पनि लगानीभन्दा बढी आवश्यकता र संस्कारको वस्तु हो ।

नेपालमा कहाँबाट आउँछ सुन ?
नेपालमा सुनको मुख्य आयात केन्द्र दुबई हो । व्यक्तिगत रुपमा ल्याइने सुनबाहेक बैंकहरुमार्फत आयात हुने सुन प्रायः दुबईबाटै आउँछ । कहिलेकाहीँ सिंगापुरबाट पनि सीमित परिमाणमा सुन आयात हुने गरेको छ ।
व्यवसायीहरुको अनुमानअनुसार नेपालमा करिब ४० टन सुन रहेको छ । यो सुन सरकारी भण्डारमा नभई सर्वसाधारण नागरिकसँग रहेको मानिन्छ । तर विडम्बना, सरकारसँग नेपालमा कति सुन छ भन्ने कुराको यकिन तथ्यांक छैन । यसले नीतिगत कमजोरी मात्र होइन, सुनजस्तो महत्वपूर्ण सम्पत्तिबारे राज्यको दृष्टिकोण कति कमजोर छ भन्ने पनि देखाउँछ ।
मध्यम वर्गमाथि सबैभन्दा ठूलो मार
सुनको मूल्यवृद्धिको सबैभन्दा ठूलो असर मध्यम र न्यून आय भएका परिवारमा परेको छ । विवाहको तयारी गरिरहेका परिवारहरु योजना बदल्न बाध्य छन् । कतिपयले सुनको परिमाण घटाएका छन्, कतिपयले कृत्रिम गहनातर्फ ध्यान दिन थालेका छन् । ग्रामीण भेगमा सुन अझै पनि आर्थिक सुरक्षाको अन्तिम सहारा मानिन्छ । संकट पर्दा बेच्न सकिने, ऋण लिन सकिने सम्पत्ति भएकाले सुनको मूल्य बढ्नु त्यहाँ खुशीभन्दा बढी चिन्ताको विषय बनेको छ ।
संस्कृति र बजारको द्वन्द्व
नेपाली समाजमा सुनसँग जोडिएको सांस्कृतिक दबाब अझै बलियो छ । सामाजिक प्रतिष्ठा, छरछिमेकको तुलना र परम्परागत सोचले गर्दा ‘सुनबिना विवाह अधुरो’ भन्ने मानसिकता अझै जीवित छ । तर, बजारको वास्तविकताले यो सोचलाई चुनौती दिइरहेको छ । सुनको मूल्यले संस्कृतिलाई नै पुनर्विचार गर्न बाध्य बनाइरहेको अवस्था देखिन्छ ।
अब के होला ?
सुनको भाउ घट्ला कि अझै
बढ्ला ? यसको स्पष्ट उत्तर अहिले कसैसँग छैन । विश्व राजनीति, युद्ध, आर्थिक मन्दी, डलरको भविष्य– यी सबै कारकले सुनको मूल्य निर्धारण गर्छन् । तर यति भने स्पष्ट छ– तीन लाख नाघेको सुनको भाउले नेपाली समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा नयाँ मोडमा पु¥याएको छ । सुन अझै चम्किरहेको छ, तर त्यो चमक आम नागरिकका लागि उज्यालोभन्दा बढी चुनौती बन्दै गएको छ ।
के नेपालमा सुन खानी छ ?
संसारभर सुनको मूल्यले ऐतिहासिक उचाइ चुमिरहँदा, यही पहेंलो धातुको उपलब्धता र भविष्यलाई लिएर विश्वस्तरमा गम्भीर बहस सुरु भएको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार अहिलेसम्म संसारभरका खानीबाट करिब २ लाख १६ हजार २ सय ६५ टन सुन निकालिसकिएको छ । चकित पार्ने तथ्य के छ भने उक्त सुनको ठूलो हिस्सा सन् १९५० पछि मात्रै पत्ता लागेको हो ।

अर्कोतर्फ, अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले भूमिगत खानीहरुमा अझै करिब ६४ हजार टन सुन निकाल्न सकिने अनुमान गरेको छ । अर्थात्, सुन सकिँदै छ भन्ने होइन, तर सजिलै उपलब्ध हुने सुनको युग भने बिस्तारै समाप्त हुँदैछ । यही सन्दर्भमा, सन् १९७९ पछि पहिलो पटक अहिलेको स्तरमा सुनको भाउ तीव्र गतिमा बढिरहेको छ ।
विश्व बजारमा सुनको मूल्य आकासिंदै गर्दा प्रश्न उठ्छ– नेपाल जस्तो प्राकृतिक स्रोतले भरिएको देश यस दौडमा कहाँ उभिएको छ ?
दशकौंदेखि सुनखानीको चर्चा तर प्रगति शून्य
नेपालका विभिन्न जिल्लामा सुनका खानीहरु रहेको तथ्य नयाँ होइन । नदी, खोला, पहाड र चट्टानसँग जोडिएर नेपालमा सुनको अस्तित्व दशकौंदेखि चर्चा हुँदै आएको छ । तर विडम्बना, आजसम्म नेपालका सुनखानीहरुको यथार्थ अवस्था, परिमाण र व्यावसायिक सम्भावना यकिन गर्न सकिएको छैन ।
भूगर्भशास्त्री कृष्णप्रसाद काफ्लेको लामो अध्ययन तथा प्रतिवेदनले नेपालका धेरै भू–भागमा सुनको सम्भावना रहेको देखाएको छ । उनका अनुसार म्याग्दी, कालीगण्डकी, भेरी, महाकाली, सुनकोशी लगायतका नदी प्रणाली र आसपासका पहाडी क्षेत्रहरुमा सुनका कण र भण्डार पाइने सम्भावना प्रचुर छ ।
तर, यी अध्ययनहरु अधिकांशतः कागजमै सीमित भएका छन् । समुचित उत्खनन्, आधुनिक प्रविधि प्रयोग, वातावरणीय मूल्यांकन र आर्थिक सम्भावनाबारे गहिरो अनुसन्धान आजसम्म हुन सकेको छैन ।
संविधानसभापछिको आशा निराशामा परिणत
नेपालका सुन खानीको व्यावसायिक उत्खनन्को सन्दर्भमा सबैभन्दा आशावादी क्षण भने पहिलो संविधानसभा निर्वाचनपछिको समय मानिन्छ । तत्कालीन प्रधानमन्त्रीको पहलमा नेपालका सुनखानी उत्खनन्का लागि अन्तर्राष्ट्रिय कम्पनीहरुसँग संवाद अघि बढाइएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार त्यसबेला म्याग्दी खोलाको सुन खानी उत्खनन्का लागि एक अमेरिकी कम्पनी नेपाल आएको थियो । ‘सरकारकै पहलमा आएको त्यो कम्पनीले १० हजार जनालाई रोजगारी दिने र उत्खनन्बाट निस्किएको सुनको ४० प्रतिशत नेपाललाई दिने प्रस्ताव गरेको थियो,’ वज्राचार्य सम्झन्छन्, ‘यो नेपालका लागि ऐतिहासिक अवसर हुन सक्थ्यो ।’तर त्यो अवसर धेरै समय टिक्न सकेन । सरकारी संयन्त्रभित्रै देखिएको कानूनी जटिलता र प्रक्रियागत अल्झनका कारण अमेरिकी कम्पनी अन्ततः रित्तो हात फर्किन बाध्य भयो ।
कानुनी जटिलता : लगानीमा बाधा
अमेरिकी कम्पनी फर्किनुको मूल कारण नेपालको खनिजसम्बन्धी कानूनी संरचना नै भएको सरोकारवालाहरु बताउँछन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार नेपालको कानूनले विदेशी व्यक्ति वा कम्पनीलाई सिधै खानी उत्खनन् गर्न दिने व्यवस्था गरेको छैन । ‘हाम्रो कानूनअनुसार विदेशी व्यक्ति वा कम्पनीले प्रत्यक्ष रुपमा खानीको काम गर्न पाउने स्पष्ट व्यवस्था छैन,’ बाँस्कोटा भन्छन्, ‘यसले विदेशी लगानी भिœयाउन ठूलो अवरोध सिर्जना गरेको छ ।’
हालसम्म पनि नेपालमा खानी तथा खनिज पदार्थ ऐन २०४२ कै आधारमा खानीसम्बन्धी काम हुँदै आएको छ । यद्यपि, २०५६ सालमा नियमावली बनाइए पनि त्यो न त सरल छ, न त अन्तर्राष्ट्रिय लगानीमैत्री । यसले गर्दा विदेशी कम्पनीहरु नेपालमा सुनजस्ता मूल्यवान खनिजमा लगानी गर्न इच्छुक हुँदाहुँदै पनि कानूनी अनिश्चितताका कारण पछि हटिरहेका छन् ।
नेपालका सुन पाइने खोला तथा नदी तटीय क्षेत्रमा निरन्तर सुन बगिरहेको छ । त्यो सुन कुन ठाउँबाट निस्किएको भन्ने पनि यकिन छैन । तर, सयौं व्यक्तिले बालुवामा चालेर दैनिकी चलाइरहेका छन् । निरन्तर बालुवामा सुन चालेर दैनिकी गुजार्ने सयौं परिवार छन् । तर, राज्यले भने सुनखानीको विस्तृत अध्ययनसमेत गरेको छैन । नेपालमा विदेशी कम्पनीले बेलाबेलामा चासो र आफूहरुको व्यावसायिक संलग्नताका बारेमा चासो व्यक्त गर्दै आइरहेका छन् ।

बग्दै सुन, छुट्दै अवसर
विशेषज्ञहरुका अनुसार नेपालका धेरै नदी प्रणालीमा सुनका कण प्राकृतिक रुपमा बगिरहेका छन् । आधुनिक उत्खनन् प्रविधि प्रयोग नगर्दा यो सुन पानीसँगै बगेर सीमापार भइरहेको छ । अर्कोतर्फ, देशभित्र बेरोजगारी बढ्दो छ, वैदेशिक रोजगारीमा युवाको निर्भरता बढिरहेको छ । यदि सुन खानीको व्यवस्थित उत्खनन् गर्न सकिएको भए हजारौं रोजगारी सिर्जना हुन सक्थ्यो, राज्यले ठूलो राजस्व पाउन सक्थ्यो र आयातमा निर्भर अर्थतन्त्रलाई केही हदसम्म टेवा मिल्थ्यो ।
आज विश्व बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा छ । केन्द्रीय बैंकहरु सुन भण्डारण बढाइरहेका छन् । लगानीकर्ता सुरक्षित सम्पत्तिको खोजीमा सुनतर्फ आकर्षित छन् । तर, यहीबेला नेपालका सम्भावित सुन खानीहरु भने नीति, कानून र उदासिनताका कारण मौन छन् । यो अवस्था केवल आर्थिक अवसर गुमाउनु मात्र होइन, दीर्घकालीन रुपमा राष्ट्रिय स्वार्थसँग जोडिएको प्रश्न पनि हो । देशको विकासका लागि पनि यो महत्वपूर्ण कोशेढुंगा बन्न सक्छ ।
नीतिगत सुधार अबको आवश्यकता
विश्लेषकहरुका अनुसार नेपालले अब ढिला नगरी खानीसम्बन्धी ऐन र नियमावलीलाई समयसापेक्ष र लगानीमैत्री बनाउनुपर्छ । विदेशी प्रविधि र पूँजीलाई राष्ट्रिय हित सुरक्षित गर्दै भिœयाउने स्पष्ट ढाँचा आवश्यक छ । साथै, विस्तृत भूगर्भीय सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय समुदायको सहभागितासहित सुन खानीको सम्भावनालाई व्यवहारमा उतार्न सकिए नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ । सुन केवल भविष्यको सपना होइन, अहिलेको अवसर हो । संसारभर सुन सकिँदै जाँदा यसको मूल्य अझै बढ्ने सम्भावना छ । यही बेला नेपालले आफ्नै भूमिमा लुकेको सम्भावनालाई चिन्न नसक्नु ऐतिहासिक चूक हुन सक्छ ।
खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा
नेपाल २५०० किलोमिटर लामो हिमालयन पर्वत शृङ्खलाको केन्द्रीय भागमा अवस्थित भूपरिवेष्ठित विकासोन्मुख देश हो । नेपालको करिब ८३ प्रतिशत भूभाग पहाडी तथा हिमाली क्षेत्रले ओगटेको छ । यस्तो भौगोलिक बनावट र जटिल भूवैज्ञानिक संरचनाका कारण नेपाल प्राकृतिक स्रोतसाधन, विशेषगरी खनिज स्रोतको दृष्टिले अत्यन्त सम्भावनायुक्त देश मानिन्छ । जलस्रोत, वन, जैविक विविधता, जडीबुटीका साथै धातुजन्य, अधातुजन्य, इन्धन तथा बहुमूल्य रत्न खनिज नेपालका प्रमुख प्राकृतिक सम्पदा हुन् ।
खनिज स्रोतहरु पुनः नवीकरण नहुने प्राकृतिक स्रोत भएकाले तिनको वैज्ञानिक अन्वेषण, योजनाबद्ध उत्खनन र दिगो उपयोग अत्यन्त आवश्यक हुन्छ । खनिज क्षेत्रको विकासले औद्योगिकीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, निर्यात प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान दिन सक्छ । यद्यपि, नेपालमा खनिज स्रोतको सम्भावना हुँदाहुँदै पनि यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।
सुन पाइने नेपालका खानी
नेपालमा खनिजको प्रयोग र उत्खननको इतिहास प्राचीन कालदेखि नै रहेको पाइन्छ । ऐतिहासिक प्रमाणअनुसार नेपालमा साना स्तरमा फलाम, तामा, सिसा, जस्ता, कोबाल्ट तथा सुनको उत्खनन तथा प्रशोधन गरिन्थ्यो । विभिन्न स्थानमा पाइने पुराना खानी खाल्डा, सुरुङ, धातु पगाल्ने भट्टीका अवशेष तथा स्ल्यागहरुले विगतको खानी गतिविधिको पुष्टि गर्छन् ।

आधुनिक र व्यवस्थित खनिज अन्वेषणको सुरुआत भने विसं २०१८ मा नेपाल खानी ब्युरो स्थापना भएपछि भएको हो । त्यसपछि विसं २०२४ मा नेपाल भूवैज्ञानिक सर्वेक्षण स्थापना गरियो । यी दुई संस्थालाई २०३४ मा गाभी नेपाल सरकारले खानी तथा भूगर्भ विभागको स्थापना ग¥यो । निरन्तर अध्ययनबाट देशका विभिन्न भागमा सम्भावनायुक्त खनिज क्षेत्रहरु पहिचान गरियो ।
नेपालमा सुन मुख्यतया नदीजन्य प्लेसर सुनका खानी पाइन्छ । महाकाली, कर्णाली, कालीगण्डकी, सुनकोशी र भोटेकोशी नदीहरु सुनका लागि प्रसिद्ध छन् । हाल साना स्तरमा परम्परागत तरिकाले सुन संकलन भइरहेको छ । कालीगण्डकी क्षेत्रमा प्राथमिक सुनको सम्भावना देखिए पनि विस्तृत अन्वेषण हुन बाँकी छ ।
नेपालमा माणिक, नीलम, टुरमालिन, एक्वामारिन, गार्नेट जस्ता रत्न पाइन्छन् । गणेश हिमाल, रोलवालिङ, इलाम र मुस्ताङ रत्न सम्भावनायुक्त क्षेत्र हुन् । तर, प्रशोधन प्रविधि र बजार व्यवस्थापन कमजोर भएकाले यो क्षेत्र अपेक्षित रुपमा विकास हुन सकेको छैन ।