काठमाडौं । पाँच देशले प्रतिस्पर्धा गर्ने टी-२० इन्टरनेशनलमा नेपालले पनि प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
नेपाललाई ओमानले निम्त दिएपनि त्यसको स्वीकृतिका लागि इन्टरनेशनल क्रिकेट काउन्सिलमा पठाइएको थियो ।
आइसीसीले अनुमति दिएसँगै नेपालको सहभागिता सुनिश्चित भएको हो । मुलुकभित्र आधिकारिक क्रिकेट संघ आइसीसीले निलम्बन गरेपछि अहिले नेपाली क्रिकेटबारे हरेक निर्णय आइसीसीबाटै हुने गर्छ ।
यो प्रतियोगिता टी-२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप आयोजना गरिएको हो ।
नेपाल एसियाली छनोटबाटै बाहिरिएपनि ग्लोबल छनोटको तयारीका लागि गर्न लागिएको प्रतियोगितामा भने भाग लिने पक्का भएको हो ।
प्रतियोगितामा नेपाल, ओमन, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स भिड्नेछन् । खेल अक्टोवर ५ देखि १० सम्म हुने आयोजक ओमानले उल्लेख गरेको छ ।
यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण छ । किनकी विश्वकप छनोटको होडबाट बाहिरिएपनि ग्लोबल छनोटमा पुगिसकेका बलिया टोलीसँगको खेलले नेपालको स्तर माथि उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खेल तालीका अनुसार नेपालले ६ अक्टोवरमा हङकङ, ७ अक्टोवरमा नेदरल्याण्ड्स, ९ अक्टोवरमा आयरल्याण्ड र १० अक्टोवरमा ओमनसँग खेल्ने भएको छ ।