नेपालीलाई लिन इजरायल गयो जहाज, परराष्ट्र मन्त्री पनि साथमा

काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उनलाई पठाउने निर्णय गरेको थियो । जहाज आज राती ३ बजे दुबई हुँदै इजरायलका लागि उडेको हो । परराष्ट्र मन्त्रीको टीम र चालक दलका सदस्य इजरायल जान अनुमति पाएका छन् । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका छन् ।

एकजना अझै सम्पर्कविहीन छन् । तनावग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारेको छ । तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिब ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन् । यो जहाजमा नेपालीको शव भने ल्याइने छैन ।