नेपाली क्रिकेटलाई सहयोग गर्ने आइसीसी अध्यक्षको प्रतिवद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग भेटवार्ता गर्दै आइसीसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको बताए । उनले नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उनीहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो ।

सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आउँदो दिनमा पनि कायम राख्न प्रयासरत रहेको भन्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए । उनले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने १९ वर्ष मुनिको महिला टी–२० विश्वकपका लागि आइसीसीबाट सहयोगका लागि आग्रह गरे । सदस्य सचिव घिसिङले विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसीसीलाई धन्यवाद दिए ।