नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन् ।

उनका अनुसार नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट महिलाको सफलतापूर्वक भल्भको प्रत्यारोपण गरिएको हो । यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्भको ठाउँमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने चिकित्सकको भनाई छ । केन्द्रले बिरामी महिलाको सोमवार भल्भ प्रत्यारोपण गरि शुक्रबार नै डिस्चार्ज दिएको छ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ ।

एओर्टिक भल्भ वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज भएको भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा नै कृत्रिम भल्भको सफल प्रत्यरोपण गरेपछि अब भल्भ परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको केन्द्रका निर्देशक डा. अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कृत्रिम भल्भ नेदरल्यान्डबाट भित्राइएको हो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्भ फ्रान्समा पहिलो पटक गरिएको थियो ।