नेपाली राजदूतावासको घुम्ति शिविर सम्पन्न; दुई सय बढी लाभान्वित

सुपेन्द्र बस्नेत, बोष्टन

संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरेको ‘घुम्ति कन्सुलर शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। राजदूतावासले स्थानीय नेपाली समुदायका संस्थाहरु एनआरएनए (NRNA) म्यासाच्यूसेट्स च्याप्टर, ग्रेटर बोष्टन नेपाली कम्युनिटी र एनआरएनए(NRNA) न्यु ह्याप्सार च्याप्टरको सक्रिय सहयोगमा आफ्ना सेवाग्राहीहरुलाई स्थानीय स्तरमै पुगेर आफ्नो कन्सुलर सेवाहरु प्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २५ र २६ तारिखका दिन आयोजना गरेको दुई दिने घुम्ती कन्सुलर शिविर सम्पन्न गरेको हो।

कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो । आफ्ना सेवाग्राहीहरुलाई राजदूतावासको कन्सुलर सेवाहरु हरसम्भव सहज रुपमा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको ‘घुम्ति कन्सुलर शिविर सेवा’ निकै प्रभावकारी भएको उहाँको ठम्याइ छ। ‘घुम्ति कन्सुलर शिविर निकै प्रभावकारी भएको पाँए। यस्ता सेवाहरुको संख्या बढाएर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने महसुस भएको छ ।’

सिमित साधन र श्रोतका कारण यस्ता सेवाहरु प्राथमिकतामा रहदा रहदै पनि पर्याप्त संख्यामा सञ्चालन गर्न नसकिएको तथ्य स्विकार गर्दै खतिवडाले भन्नु भयो ‘ भविष्यमा वर्षमा सके दुई पटक, नसके कम्तिमा एक पटक भएपनि, यस्तो कार्यक्रम प्राथमिकताका साथ आयोजना गर्न राजदूतावासले हरसम्मभव प्रयास गर्ने छ ।’ स्थानीय आयोजक संस्थाहरु बीचको सहकार्य र महत्वपूर्ण भूमिकाका कारण राजदूतावासको कार्यक्रम सफलताका साथ सम्पन्न गरी गर्व गर्न पाएकोमा सहयोगी स्थानीय आयोजक संस्थाहरुप्रति खतिवडाले आभार प्रकट गर्नु भयो। उहाँले भन्नु भयो ‘हामीलाई निकै गर्व लागेको छ। यहाँहरुले देखाउनु भएको एकता, सहकार्य र समाजसेवी भावनाले थप उत्प्रेरित र उत्साहित बनाएको छ।”
आयोजकले दिएको जानकारी अनुसार दुई दिने घुम्ति शिविर मार्फत म्यासाच्यूसेट्स राज्यसहित न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट राज्यहरुमा बसोबास गर्ने दुई सय भन्दा बढी सेवाग्राहीहरु लाभान्वित भएका छन्।


शिविर मार्फत सेवाग्राहीहरुले राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने), गैर आवासीय नेपाली परिचयपत्र (NRN ID), अधिकृत वारेसनामा (Power of Attorney), कागजात प्रमाणिकरण(Attestation), एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document) र पर्यटक भिषा (Tourist Visa) सेवाहरु प्रदान गरिएको नियोग उपप्रमुख कुमारराज खरेलले जानकारी दिनु भयो। कोरोना कहरको अवस्था सुधार भए पश्चात् विभिन्न राज्यहरुमा सात वटा घुम्ति शिविर सम्पन्न गरिसकिएको र बोष्टनमा सम्पन्न भएको आठौं घुम्ती शिविर पनि सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले खुशी व्यक्त गर्नु भयो। स्थानीय आयोजक संस्थाहरुको सक्रिय भूमिकाका कारण सोचे भन्दा बढी सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै खरेलले भन्नु भयो ‘सोचे भन्दा बढी सेवाग्राहीहरुलाई सक्दो गुणस्तरी सेवाहरु प्रदान गर्न सकेकोमा हामी सारै खुशी छौं। महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानीय आयोजक संस्थाहरुलाई धन्यवाद छ ।’
घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुको प्रवाह हेर्दा लक्षित समुदायहरु सेवा लिन निकै लालायित भएको देखिन्थ्यो। सेवा लिने सेवाग्राहीहरुको घुइचोले, दुई दिने शिविर अपर्याप्त रहेको पुष्टि गरेको थियो। प्राविधिक सेवामा केही समस्याहरु भोग्नु परेको बाहेक समग्रमा घुम्ती सेवा फलदायी र प्रभावकारी रहेको सेवाग्राहीहरुले प्रतिक्रिया दिएका थिए। म्याद गुज्रिएको आफ्नो पासपोर्ट नविकरणका लागि छोरीसंग शिविरमा आउनु भएकी ५५ वर्षिया लक्ष्मी भट्टराईले सहज, छिटो र छरितो सेवा प्राप्त गर्न पाएकोमा निकै खुशी व्यक्त गर्नु भयो। भट्टराईकी ३५ वर्षिया छोरी नितु गौतमले पनि केही प्राविधिक समस्याहरु बाहेक समग्रमा सेवा प्रसंशनीय रहेको प्रतिक्रिया दिनु भयो। अधिकृत वारेसनामा बनाउन आउनु भएका भाष्कर ज्ञवालीले पनि शिविरमा प्रदान गरिएका सेवाहरु गुणस्तरीय नै रहेको जिकिर थियो। आफ्नी छोरीको पासपोर्ट बनाउन आउनु भएकी लक्ष्मी लम्सालको प्रतिक्रिया पनि उस्तै थियो ।अक्टोबरको पहिलो साता सपरिवार नेपाल जाने तयारी गर्दै गर्नु भएका हरि पौडेलले पनि सेवा गुणस्तरीय नै प्राप्त गरेको भन्दै स्थानीय आयोजक संस्थाहरु र राजदूतावासको खुलेरै प्रशंसा गर्नु भयो ।


कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएकोमा आयोजक संस्था एनआरएनए म्यासाच्यूसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङले खुशी व्यक्त गर्नु भएको छ। प्राथमिकता दिएर कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुने राजदूत युवराज खतिवडा र स्थानीय स्तरमै आएर नेपाली समुदायलाई आफ्ना अमुल्य सेवाहरु सहज रुपमा प्रदान गरिदिने राजदूतावासका कर्मचारीहरुप्रति तामाङले आभार प्रकट गर्नु भयो। ‘प्राथमिकताका साथ अमुल्य समय दिएर कार्यक्रममा सहभागी भइदिनु हुने राजदूत ज्यू र अहोरात्र खटेर सामुदायलाई गुणस्तरीय सेवा प्रदान गर्नु हुने राजदूतावासका कर्मचारीहरुप्रति आभार प्रकट गर्दछु।’ तामाङले भन्नु भयो,’कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य अमुल्य सहयोगी भूमिका निर्वाह गर्ने सम्पूर्णलाई आयोजकको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’
यसैबिच, घुम्ती शिविर सोचे भन्दा बढी सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजक संस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटिका अध्यक्ष मिलन कुमार कार्कीले पनि प्रतिक्रिया दिनु भएको छ।
‘कार्यक्रम सोचे भन्दा बढी सफल भएको मेरो बुझाइ छ।हरसम्भव सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा दिने हाम्रो प्रयास रह्यो।’कार्कीले भन्नु भयो,’यो कार्यक्रम हाम्रा लागी पाठ सिकाइको अवसर पनि रह्यो। भावी दिनमा यस कार्यक्रममा भोगेका समस्याहरुलाई न्यूनिकरण गरेर थप गुणस्तरीय सेवा प्रदान गर्ने छौं’।सेवाग्राहीहरुको प्रतिक्रिया र कार्यक्रमको समग्र उपलव्धिको मुल्याङ्कन गर्दा, कार्यक्रम निकै प्रभावकारी र उपलव्धिमूलक भएको भन्दै कार्कीले कार्यक्रमलाई निरन्तरता दिन नेपाली समुदायका तर्फबाट राजदूतावासलाई अनुरोध समेत गर्नु भएको छ।
दुरी,समय, खर्च र यस भेगमा बसोवास गर्ने झण्डै २५ हजार नेपाली समुदायहरुलाई छिटी, छरितो, चुस्त-दुरुस्त र किफायती हिसावले गुणस्तरीय कन्सुलर सेवाहरु प्रदान गर्न राजदूतावासले यस किसिमको घुम्ती सेवाहरुलाई प्राथमिकताका साथ निरन्तरता दिदै आवश्यक संख्यामा आयोजना गर्नु पर्ने देखिन्छ।यसका लागि यस भेगका नेपाली समुदायले कार्यक्रमको दौरानमा राजदूतावासंग जोडदार माग समेत गरेका छन्।