नेपाली विमानस्थल हुँदै कसरी हङकङ पुग्यो चरेश ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास परेर नेपाल एयरलाइन्सको विमानमार्फत हङकङमा चरेश पुगेको पाइएको छ । कार्गो कम्पनीमार्फत पठाइएको किताबको पार्सलमा चरेश भेटिएको सूचना प्राप्त भएपछि प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पनि छानबिन थालेको छ । हङकङमा चरेश बरामद भएपछि त्यहाँको सुरक्षा संयन्त्रले नेपालस्थित कार्गो कम्पनीलाई खबर गरेको थियो ।

कार्गोमार्फत त्यसबारे सूचना प्राप्त भएपछि आफूहरुले अनुसन्धान थालेको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले बताएका छन् । उनका अनुसार कति परिणाम हो भन्ने यकिन भइसकेको छैन, तर चरेश गएको भन्ने सूचना पाएपछि छानबिन सुरु भएको छ ।

विमानस्थलमा लागूऔषध नियन्त्रण ब्यरोको टोली समेत जाँचमा खटिन्छ । तर, जाँच पार गरेर चरेश बाहिरिएपछि छानबिनका लागि ब्यूरोले प्रहरी नायब उपरीक्षक )डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

प्रहरीबाट तर्फबाट भएको हुनसक्ने कमजोरीबारे छानबिन गर्न समितिलाई कार्यादेश दिइएको छ । प्रहरीका अनुसार, गाँजासहितको किताबको पार्सल विराट कार्गोले पठाएको थियो । २६ साउनमा गाँजासहितको पार्सल विमानस्थलबाट बाहिरिएको प्रहरीले जनाएको छ ।