नेपाल प्रवेश गर्न खोजेका दुई बंगलादेशी नागरिक भारत फिर्ता

काठमाडौं । नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिकलाई मोरङको नाकाबाट नेपाली सुरक्षाकर्मीको टोलीले फिर्ता गरेको छ । मोरङको विराटनगर महानगरपालिका १५ हुलास चोकमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको ५ जनाको टोलीले नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो ।

उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको सशस्त्र प्रहरी उच्च स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । भारततर्फ फिर्ता गराइएका बंगलादेशी नागरिकहरुमा ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगम छन् । उनीहरुलाई मंगलबार पौन १ बजे भारततर्फ फिर्ता गराइएको हो ।

बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिनाले समेत देश छाड्नु परेपछि त्यसको असर नेपालमा समेत पर्ने भन्दै उच्च सतकर्ता अपनाएर सीमा सुरक्षामा अहिले कडाइ गरिएको छ।