काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए पनि उनीमाथि पक्राउ पुर्जी नै जारी भएको छ । काठमाडौंको सडकमा सार्वजनिक सवारी साधन साविकभन्द्या केही कम देखिएका छन् । निजी सवारी निर्वाध चलेका छन् । बिहान थापागाउँमा नेपाल यातायातको बा ४ ख ९०८९ नम्बरको बस तोडफोड भएको छ।
कोटेश्वरमा बिहान महासागर यायायातको एक यात्रुबहाक बसमा ढुंगा प्रहार भएको छ । कोटेश्वरमा एक माइक्रोमा पनि तोडफोड भएको प्रहरीको अपडेट छ । डिल्लीबजारको सफ्टवारिका कलेजमा पनि मोटरसाइकलमा आएको एक समूहले तोडफोड गरेको छ । काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।