नेपाल भ्रमण सकाएर फर्किए डब्लूएचओ प्रमुख गेहब्रेयस

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण पुरा गरि फिर्ता भएका छन् । उनी शनिबार बिहान जेनेभा प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए। शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उनलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिएका थिए।

भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरूद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए। टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरूद्ध बालबालिकालाई खोप सुरू गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।

नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे। पाटन माध्यामिक विद्यालयमा पुगेर उनले टाइएफाइडविरूद्धको खोप अभियानको अवलोकन समेत गरेका थिए।