काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । किङ सिटी मैदानमा गत राती पौने ९ बजेबाट शुरु हुनु पर्ने खेल वर्षाका कारण अवरुद्ध भएको हो । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको छ । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ ।
विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो । क्यानडाबाट नेपाली टोली स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा हुने लिग–२ मा नेपालले घरेलु टोली र नामिबियासँग खेल्ने तालिका छ ।