काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो । फाइनलमा हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
आईसीसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि ९ सेप्टेम्बरमा मलेसियामा हुनेछ। नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप खेल्न पाउनेछन् ।