काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्न नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ ।
नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसागको भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवम् आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल काठमाडौं–कराँची हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसँग आग्रह गरे । ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा ३ घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ’ मल्लले भने ‘सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’
नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरु तयार रहेको उनले बताए । निजी क्षेत्रबीचको सहकार्य मार्फत हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लको भनाइ छ । नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए ।
पाकिस्ताबाट नेपालले अहिले औषधि, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी बस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयत गर्दै आएको भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आाखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ । यसले पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको भनाइ छ ।