नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो ।

इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेशबीच पहिलो पटक खेल भएको हो । साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।