काठमाडौं । नेपालले मार्सल आइल्यान्डसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्युयोर्कमा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको लागि नेपालका राजदूत अमृतकुमार राई र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि मार्सल आइल्यान्डकी राजदूत अमातलेन एलिजाबेथ काबुआले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहमा दुई राजदूतले विभिन्न साझा चासोमा छलफल गरेको न्युयोर्कस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १८१ पुगेको छ । नेपालले गत बिहीबार मात्र अफ्रिकी मुलुक क्यामरुनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसअघि मे ४ मा नाउरु, फेब्रुअरी १६ मा मलावी र गत वर्ष जुन १६ मा ट्रिनिडाड एन्ड टोबागो र अप्रिल १ मा बेलिजसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सबैभन्दा पहिला सन् १८१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ मा अमेरिकासँग र भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो ।
अस्ट्रेलिया र हवाईको बीचमा रहेको मार्सल आइल्यान्ड ज्वालामुखी द्वीपहरूको समूहबाट बनेको मुलुक हो । मार्सल आइल्यान्ड सन् १९८६ मा मात्र अमेरिकाबाट स्वतन्त्र भएको थियो । त्यसअघि सन् १९१४ मा मार्सल आइल्यान्डमाथि जापानले कब्जा गरेको थियो । सन् १९१९ पछि भने त्यहाँको प्रशासन लिग अफ नेसन्सको म्यान्डेटअनुसार चल्यो ।
दोस्रो विश्वयुद्धमा भने अमेरिकाले मार्सल आइल्यान्डमाथि कब्जा जमायो । सन् १९७९ मा मार्सल आइल्यान्डले आफ्नै संविधान बनायो भने सन् १९८६ मा अमेरिकासँग फ्री एसोसियसन सम्झौतामा हस्ताक्षर गर्दै स्वतन्त्र मुलुकका रूपमा स्थापित भयो । सन् १९९१ मा मार्सल आइल्यान्डले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो ।
मार्सल आइल्यान्डको कूल क्षेत्रफल जम्मा १४१ वर्गकिलोमिटर मात्र रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मार्सल आइल्यान्डको जनसंख्या करिब ४३ हजार९सन् २०२० को तथ्यांकअनुसार० रहेको छ भने प्रतिव्यक्ति आय करिब ४ हजार अमेरिकी डलर रहेको छ ।
गणतन्त्रात्मक मुलुक रहेको मार्सल आइल्यान्डका वर्तमान राष्ट्रपति डेभिड काबुआ हुन् । नितिजेला नामक मार्सेलिज संसद्मा ३३ जना सांसद रहन्छन् भने उनीहरूको कार्यकाल ४ वर्षको हुन्छ । राजधानी कापुरो रहेको मार्सल आइल्यान्डको मुख्य आम्दानीको क्षेत्र भनेको नरिवल, माछा, पर्यटन र क्युरियो सामग्री हुन् ।