नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको हो । वार्तामा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको बताए ।