न्युयोर्क ।
नेवा गुठी न्युयोर्कको नवौँ महाधिवेशन ज्याक्सन हाइट्सस्थित उडसाइड रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ ।
महाधिवेशनमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयनलगायत बितेका कार्यको प्रतिवेदन पेस गरिएको थियो ।

गुठीका संस्थापक बीके नेवाले पानसमा दियो बाली सुरु गरिएको उक्त कार्यक्रममा संस्थापक नेवाले नेवा गुठी किन र केका लागि स्थापना गरेको र त्यसको उद्देश्य के हो भन्नेबारे प्रकाश पार्दै गुठीलाई यहाँसम्म ल्याई योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले हुन लागेको निर्वाचनमा सबैलाई संयमित भई एक आपसमा सदभाव कायम गरी जान अनुरोध गर्नु भएको थियो ।

उक्त समारोहमा संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्वअध्यक्ष समिर महर्जनले नेवा गुठीबारे प्रकाश पार्दै सबैजना मिलेर गुठीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सजना महर्जनले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा गुठीका महासचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हृदय तुलाधरले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्यले गुठीका सबै पदाधिकारीलगायत सबैलाई आफूलाई सम्मान स्वरुप स्थान दिइएकोमा धन्यवाद दिँदै आगामी कार्य समितिका सबैलाई अग्रिम बधाई दिनु भएको थियो ।

गुठीका अध्यक्ष विजयमान सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भद्र र सभ्य रुपमा रामकृष्ण महर्जनले गर्नुभएको थियो । उक्त कार्यको सबैले प्रशंसा गर्दै रामकृष्ण महर्जनलाई बधाई दिएका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा नयाँ कार्यसमितिका लागि चुनाव गराइएको थियो । अन्जन श्रेष्ठ निर्वाचन आयुक्त रहनुभएको उक्त कार्य सम्पन्न गर्न राजेन्द्र महर्जन र रोसन महर्जनले सहयोग गर्नुभएको थियो । अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिनुभएको थियो । कार्य समितिका अरु पदाधिकारीलाई भने निर्विरोध निर्वाचित गरिएको थियो ।

अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका गुठीका वर्तमान अध्यक्ष विजयमान सिंह र पूर्वउपाध्यक्ष सिर्जना तुलाधरलाई आआफ्नो कुरा राख्न लगाई सम्पन्न गरिएको निर्वाचनमा विजयमान सिंह १०६ मत ल्याई विजयी हुनुभयो । सिर्जना तुलाधरले ६२ मत ल्याउनु भयो ।
सोही दिन विहान नेवा गुठी र नेवा नख दुबै संस्था मिली नेपाल संवत् ११४४ को उपलक्ष्यमा भिन्तुना र्यालीको आयोजना गरी नेवारी बाजा बजाई नाचगान गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।

भिन्तुना कार्यक्रमका पाहुनाहरुलाई उसिनेको अण्डा र माछाको सगुन दिई रातो टीका लगाई दिएर नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । उक्त कार्यक्रममा अरु जातिका मानिसहरुको पनि ठूलो संख्यामा सहभागिता रहेको थियो ।