न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

काठमाडौं । न्यायालयमा चुलिएको विवादले न्यायका सेवाग्राही नराम्रोसँग प्रभावित बनेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो । यसरी इजलास अवरुद्ध भएको लगातार दोस्रो दिन हो । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको छ ।