न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा भने मौन बसे । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री फर्किएपछि यसबारे धारणा बनाउने बताइरहेका बेला देउवाले भने सार्वजनिक कार्यक्रममा यसबारे टिप्पणी गरेनन् । प्रधानमन्त्रीलाई विमानस्थलमा मन्त्रीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्रीको साथमा वातावरणमन्त्री बाहेक अन्य प्रतिनिधि स्वदेश फर्किएका छन् ।