न्युयोर्कको नेपाली मन्दिरमा श्रीस्वस्थानी व्रतकथा साङ्गेका लागि उपस्थित हुन आग्रह

न्युयोर्क

न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा गत जनवरी १३ पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको श्रीस्वस्थानी व्रतकथा भोली ३१ औं अध्याय पुरा गरि माघ शुक्ल पूर्णिमाका दिनमा बिधिपुर्वक साङ्गे गरिने भएको छ ।


सो अवसरमा व्रतकथा समितिका संयोजक तुलसी आचार्यले श्रीस्वस्थानीमा आस्था राख्ने सबै हिन्दुजनलाई प्रसाद ग्रहणको लागि निमन्त्रणा गरेको छ । ५० सदस्यीय व्रतकथा समिति गठन गरेका रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको सहकार्यमा सम्पन्न हुन गइरहेको यस पुण्यकार्यबाट उठेको दानदक्षिणा भेटी रकम सांस्कृतिक केन्द्रको स्तरोन्नतिका लागि प्रयोग गरिने आयोजकले जानकारी दिएका छन्।

कथा वाचनस्थल दुर्गा मन्दिरका पुजारी पण्डित दीपक खराल र पण्डित उद्धव शाश्त्रीद्वयले वाचन गर्दै आएको श्रीस्वस्थानीको कथा वाचनशैली तथा व्याख्या धेरै भक्तजनले मनपराएका छन् । यो व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास अनुसार त्यसैले प्रारम्भको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात गर्ने गरिन्छ । बिहान स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

नेपाल र नेपाली हिन्दुले मात्र मान्दै आएको श्रीस्वस्थानी कथा मध्य मल्लकालमा बिसं १५७० तिर जयन्तदेवले लेखेका हुन भनिएको छ । यस कथाको साङ्गेका दिन (माघ शुक्ल पूर्णिमा) १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

यस कथावाचनमा ५ शय डलर भन्दा बढी दान गर्ने दाताहरुको नामावली समेत संस्थाले प्रकाशित गरेको छ । यो बर्षको कथावाचन कार्य समापन गर्दासम्म १ लाख डलरभन्दा बढी रकम उठ्ने अनुमान गरिएको अध्यक्ष राजेश भट्टले बताएका छन् ।