न्युयोर्कको सरल नेपाली भाषा तथा संस्कृति केन्द्रले नवौं वार्षिक उत्सव मनायो

न्युयोर्क

वालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउँदै आएका सरल नेपाली भाषा तथा संस्कृति केन्द्र न्युयोर्कले क्वीन्सस्थित फरेष्ट पार्कमा गत आइतबार भव्यताका साथ नवौं वार्षिक उत्सव मनाएको छ । आजभन्दा ९ वर्षअघि न्यूयोर्क, ज्याक्सन हाइट्स कराँते स्टुडियोको कक्षाकोठाबाट शुरु भएको सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (www.snlcc.org) ले यही सेप्टेम्बरबाट नवौं वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न गरेको हो |

आजका दिनसम्म यस संस्थाबाट ५ सय विद्यार्थीहरू लाभान्वित भइसकेका छन् भने र हाल २१० विद्यार्थीहरू अध्ययनरत छन् | जसमध्ये धेरैजसो विद्यार्थीहरू न्यूयोर्क सहर वाहिर अमेरिकाका विभिन्न राज्यबाट छन् भने केही युरोप, एशियाबाट समेत रहेका छन् |

नवौं वार्षिक उत्सवको अवसरमा संस्थाले यही सेप्टेम्बर ०७, २०२५ आइतबारका दिन “नवौँ वार्षिक उत्सव एवं अनौपचारिक पारिवारिक वनभोज कार्यक्रम”को समेत आयोजना गरेको थियो । प्रतिकुल मौसमको बावजुद पनि करिव २०० को संख्यामा उपस्थिति रहेको थियो । किनकी स-साना बालवच्चासँग आउनु पर्ने भएकोले मौसमकै कारण न्यूयोर्कमा रहेकाहरू पनि धेरै छुटेका थिए | यति हुँदाहुँदै पनि न्यूयोर्क, न्यूजर्सी, अपस्टेट न्यूयोर्कदेखि पेन्सिलभेनियासम्मका करिब २०० जना विद्यार्थी र अभिभावकहरूको उपस्थितिले कार्यक्रम उत्साहजनक देखिएको थियो ।


मौसमले साथ नदिए पनि कार्यक्रमलाई सहज बनाउन ओत लाग्ने टेन्ट, कुर्सीहरूको व्यवस्था म्याग्दी समाज, अमेरिका ( www.MyagdiSamajUSA.org ),मगर संघ अमेरिका ( www.MagarUSA.org ), केन्द्रीय समिति, न्यूयोर्क च्याप्टर एवं अभिभावकहरूले गरेका थिए | त्यसैगरि भोजनको व्यवस्था इच्छुक अभिभावक र संस्थाको तर्फबाट भएको थियो भने यसलाई सही व्यवस्थापन गर्न हिमालयन करी हाउस (www.himalayancurryhousenyc.com) ले साथ दिएको थियो |

उक्त कार्यक्रममा पाचौं तह पूरा गरेका १९ जना दिक्षित विद्यार्थीहरूलाई अवार्ड र प्रमाणपत्र, पहिलोदेखि चौथो तह सम्मका ७३ जनालाई कक्षा उत्तीर्ण गरेको प्रमाण पत्र र ११ जना विद्यार्थीहरूलाई प्रत्येक हप्ता एक वर्षसम्म आफूले प्राप्त स्टारको आधारमा “Best Student Of Class” प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो । यसै वर्ष हाइस्कुल सकेर कलेज शुरु गरेकी यस संस्थाकी पूर्व विद्यार्थी/ सहायक शिक्षिका एवं स्वयंसेवक निनिमा राईलाई पनि बधाई दिंदै साथ अवार्ड प्रदान गरेको थियो ।

त्यसैगरी कार्यक्रममा स्वयंसेवकको रुपमा खट्ने २६ जना, नृत्य/ वक्ता ४ जना विद्यार्थीहरूलाई जनही प्रमाण पत्रसहित हौसलास्वरूप नगद $२० उपहार पनि प्रदान गरिएको थियो । संस्थाले भाषा कक्षा लगायत कार्यक्रमहरूमा १२ वर्षभन्दा माथिका आफ्नै विद्यार्थीहरूलाई स्वयंसेवक गर्न मौका दिने गरेको छ ।

हरेक वर्षको कार्यक्रममा स्वफूर्त प्रतिबद्ध भइ स्वयंसेवक गर्दै आउनु भएका स्वयंसेवकहरू (hamrophoto.com) फोटोग्राफर अशोक पन्तले कार्यक्रम अवधिभर तस्विर, भोजन व्यवस्थापनको लागि रेष्टुरेन्ट व्यवसायी भविन्द्र सेरपुन्जा साथै डिजे व्यवस्थापक डिजे राजा राजेन्द्र राई र जस कुमार राईलाई पनि प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । विशेष कामले डिजेमा दिनभर समय दिन नसकेपछि राजेन्द्रले बिहानै पार्कमा डिजेको सबै व्यवस्था मिलाएर पत्रकार जसकुमार राईलाई जिम्मा लगाई दिएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यवसायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहे पनि वच्चाहरूको कार्यक्रम भएकोले सम्पूर्णलाई अभिभावककै विशेष स्थानमा राखिएको थियो । आसन ग्रहण र तालिकामा कुनै सम्मान/ वक्ता भने राखिएको थिएन । तर सम्पूर्ण उपस्थित इच्छुक अभिभावक, हजुरबा आमा र विद्यार्थीलाई स्फूर्त मनको कुरा राख्नको लागि भने आह्वान गरिएको थियो । केही हजुरबुबा आमा र वच्चाले नै आफ्नो अनुभव एवं मनको कुरा सुनाएर भावुक बनाएका थिए ।

अन्त्यमा संस्थाको तर्फबाट प्रदान गरिएको गुडीव्यागको साथमा सामाजिक अभियन्ता एवं डेमोक्र्याटिक डिस्ट्रिक लिडर (डिस्ट्रिक ३०) विष्णु मगरको पहलमा सिटी काउन्सिल (डिस्ट्रिक २६) का काउन्सिल मेम्बर जुली वानको तर्फबाट प्राप्त स्कुल व्याग/ स्टेशनरी सप्लाइ वितरण गरिसकेपछि नवौं वार्षिक उत्सवको केक काटेर कार्यक्रमको समापन गरिएको थियो |

कार्यक्रमलाई संस्थाकी उपाध्यक्ष/ शिक्षिका यशोदा राईले संचालन गरेकी थिइन् भने सदस्य जानुका वस्ती ढकालले उपस्थित पाहुनाहरूलाई न्यानो स्वागत अभिवादन टक्र्याएकी थिइन् |