बिके नेवा, न्युयोर्क ।
प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।
नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
लामो विधि अनुसार पूजा सम्पन्न भएपछि कन्यालाई एक किसिमको विविध धागोले बनाइएको साडी र सिन्दुर लगाइदिएर विभिन्न उपहार दिने गरिन्छ ।

यसपालीको ७ औँ इही पूजामा ६ जना कन्याको पूजा गरिएको थियो । न्युयोर्क निवासी, लंग आइल्याण्ड निवासी र बोस्टन निवासी पूजामा सहभागी भएका थिए ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित धर्म हाउसको हलमा भएको उक्त पूजाको पुरोहित बाशल राजोउपाध्याय हुनुहुन्थ्यो ।

सजना महर्जनको प्रमुख व्यवस्थापन, सुरजलक्ष्मी श्रेष्ठको सहव्यवस्थापन र पूजामा पुरोहितलाई साथ दिने र विशेष किसिमको परिकार राखी थाय भुको व्यवस्थापन हृदय तुलाधर र अनिता नकर्मीले गर्नुभएको थियो । पूजामा महत्वपूर्ण सहयोगीको भूमिका कृष्णमाया महर्जन, मुना डंगोल र सरिता श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नेवाः गुठी न्युयोर्कका अध्यक्ष विजयमान सिंहले इहीमा सहभागी ६ जना कन्या एलिसा थांजु, सिचु श्रेष्ठ, युरिका डंगोल, नेहा श्रेष्ठ, अटुमन राई श्रेष्ठ, र जयदा अमात्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
अध्यक्ष सिंहले सहभागीहरु र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै नेवाः गुठीले नेवाहरुको कला, संस्कृतिलाई बचाइराख्न, भावि पुस्तालाई देखाउने, सिकाउने र प्रवर्दन गर्दै आएको बताउँदै प्रत्येक वर्ष आफ्नो कार्यक्रम गर्दै आएकोले यसलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।

नेवाः गुठी न्युयोर्कले नयाँ वर्षको भिन्तुना कार्यक्रम, इन्द्रजात्रा कार्यक्रम, म्हपूजा, रञ्जना लिपि सिकाउने धिमय बाजा सिकाउने, धिमय नाच सिकाउने लगायत प्रत्येक वर्ष सामूहिक व्रतबन्ध(कायता पूजा) र इही पूजा गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा झन्डै १५० जनाको सहभागिता थियो । कार्यक्रमको अन्त्यमा नेवारी भोजको आयोजना गरिएको थियो ।