न्युयोर्क
अमेरिकाको दक्षिण पूर्वीय र पश्चिमी राज्यहरुमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि प्रारम्भमा महामारीको एपिसेन्टर बनेको न्युयोर्क राज्य भने संक्रमितको संख्यामा सुधारोन्मुख देखिएको छ । शनिबार न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले पछिल्ला दिनहरुमा जाँच गरिएका ९९ प्रतिशत शंकास्पद संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएको बताएका छन् । शुक्रबार न्युयोर्क राज्यमा जाँच गरिएका ७३ हजार २ सय ६२ मध्ये जम्मा ७ सय ३ जनामा मात्र संक्रमण पुष्टी भएको गभर्नर कुमोले बताए । न्युयोर्क राज्यमा संक्रमितको संख्यामा मात्र होईन, अस्पतालको आईसियुमा समेत बिरामीको संख्या उल्लेख्य रुपमा घटेको बताएका छन् । कुमोले शनिबार भनें; “भाईरस संक्रमणको ब्यबस्थापनलाई राजनीति नगरिकन बिज्ञानको सिद्धान्त अनुसार काम गर्यो भने मात्र जित्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ तर पनि न्युयोर्कबासीहरु लगातार सतर्क भने हुनु पर्दछ ‘।
कुनै बेला कोरोना एपिसेन्टर बनेको न्युयोर्कमा शुक्रबार गरिएको जाँच मध्ये १ प्रतिशत मात्र संक्रमित भेटिए भने अस्पताल भर्ना हुनेको संख्या न्युयोर्क राज्यभर ९ सय ८ जना छन् । शुक्रबार अस्पताल भर्ना हुनेको यो संख्या बिहीवार भन्दा ४३ जनाले कम हो । न्युयोर्क राज्यमा शनिबारसम्म ३ लाख ९१ हजार संक्रमित र शुक्रबार मृत्यु भएका १३ जना समेत गरेर ३१ हजार ३ सय ६२ को मृत्यु भएको छ ।
शनिबार अमेरिकाका पाँच राज्यले संक्रमित संख्यामा नयाँ रेकर्ड रखेका छन् । फ्लोरिडा, जर्जिया, आईडाहो, टेनेसी र युटाहा राज्यमा आजसम्म कै धेरै संक्रमित भेटिएका छन् ।
अमेरिकामा भने शनिबारसम्म २५ लाख ४ सय १९ संक्रमित र १ लाख २५ हजार ४ सय ३४ को मृत्यु भै सकेको छ । शनिबार ४ बजे भित्र अमेरिकामा एकै दिन ४१ हजार संक्रमित भेटिएका छन् । अधिकांस संक्रमित फ्लोरिडा, टेक्सास र क्यालिफोर्नियामा भेटिएका हुन् ।