न्युयोर्क
न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो । न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि न्युयोर्क आगामी जुन ८ तारिखदेखि खोल्ने तयारी गरिएको छ । तर कोरोनाबाट भर्खर जुर्मुराउन थालेको सहर पुन: जर्ज फ्लोएड मृत्यु प्रकरणले लुटपाट र टोडफोडमा फसेको भएपनि गभर्नर कुमोले आगामी सोमबारदेखि न्युयोर्क खोल्ने कुरामा प्रतिबद्दता ब्यक्त गरेका छन् ।
न्युयोर्कमा सोमबार राती ११ बजेदेखि लागू गरिएको कर्फ्युलाई मंगलवार भने ३ घण्टा अगाडि ८ बजेदेखि बिहान ५ बजेसम्म लगाइएको छ । सोमबारको कर्फ्यु अगाडि नै गाडी सहित म्यानह्याटनका महँगा स्टोरहरुमा लुटपाट भएपछि मंगलवार साँझ नपर्दै सुरक्षा ब्यापक गरिएको छ ।