दीपकराज पाण्डे, न्युयोर्क ।
नेपाली गीत तथा नृत्यको आकर्षक प्रस्तुतिहरु रहेको “दशैं तिहार विविध साँस्कृतिक साँझ -२०२४” न्युयोर्कको ज्याक्सन हाइट्सस्थित धर्म हाउसमा भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली कलाकारहरुको उम्दा कलाकारिता प्रस्तुत गरिएको कार्यक्रमको आयोजना ‘हिमालय साँस्कृतिक प्रतिष्ठान’ले दशैं तिहारको अवसर पारेर गरेको हो ।

गत शनिबार २८ तरिख साँझ ७ बजे शुरु भएको मनोरञ्जनात्मक कार्यक्रम रातको १ बजेसम्म चल्यो । कार्यक्रममा नेपाली कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । सञ्चारकर्मी प्रदीप थापा मगरले सञ्चालन गरेको कार्यक्रमको शुभारम्भ प्रतिष्ठानका संस्थापक अभय ढुंगेलको स्वागत सम्बोधनबाट शुरु भएको थियो ।

स्टेज बाद्यबादनको किबोर्डमा डेभिड सुरवि ढकाल, गिटारिष्टत्रयमा हेमराज राई; शिशिर श्रेष्ठ; आयुस श्रेष्ठ तथा ढोलक मादल तबलामा न्हुच्छे डंगोल रहेका थिए भने गायक गायिकाहरुमा सपना श्री, जगदिश समाल, संगीता मुखिया, अभय ढुंगेल, बिमल डाँगी, निसा सुनार, राजेन्द्र राई, सानु शेर्पा, सुभास दाहाल, हजुरी शाह कँडेल र सलिना श्रेष्ठले साँझको माहोल साँगीतिक बनाए ।


कार्यक्रमलाई सफल बनाउन लागिपर्ने सहयोगीहरु गीतकार तथा सल्लाहकार अनिता थापा, सहयोगी दिपक श्रेष्ठ, कलाकार इत्ना कार्की र भिमसेन श्रेष्ठलाई आयोजकले धन्यबाद व्यक्त गर्दै न्युयोर्क सहरका मेयर एरिक एडम्सका एसियन मुलका सल्लाहकार नबराज केसी र बरिष्ठ कलाकार नबिन दुंगेलबाट हिमालय कल्चरल एकेडेमीको यस कार्यक्रममा प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई प्रसंसापत्र बितरण गरिएको थियो ।

अमेरिकाको र नेपालको राष्ट्रियगानबाट शुरु भएको कार्यक्रममा करिव १५ ओटा गीतहरु लाइभ गाइएको र ३ ओटा लोक नृत्य प्रस्तुत गरिएको थियो ।