न्युयोर्क सहरमा मनाए भव्य संयुक्त तीज कार्यक्रम

न्युयोर्क

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा एनआरएनए अमेरिका न्युयोर्क च्याप्टरको संयोजकत्वमा संयुक्त तीज कार्यक्रम भव्यताका साथ मनाएका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा स्याङ्जा समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाको संयुक्त आयोजनामा तीज मनोरञ्जनात्मक कार्यक्रम गरेको हो । प्रवेश नि:शुल्क गरिएको कार्यक्रममा आगन्तुक सबैलाई दर खुवाई सामुहिक मनोरञ्जन गराएका थिए ।

च्याप्टरका अध्यक्ष आङ्ग छिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको छोटो औपचारिक सत्रमा न्युयोर्कस्थित वाणिज्यदूत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यता थियो । त्यसैगरी च्याप्टरका सचिव बासु लामिछाने (दण्डपाणी) ले सञ्चालन गरेको कार्यक्रममा सह-आयोजक संस्थाका अध्यक्षहरु मिलन शाही, बिमला हमाल, शंकर पौडेल, सोमेन्द्र रञ्जित, निशा सुनारको उपस्थिति थियो । अध्यक्षले सबैलाई कृतज्ञता जाहेर गर्दै शुभकामना दिएका थिए ।

किम्वदन्ति अनुसार सत्ययुगमा पार्वतीले निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ । सोही पवित्र कार्यको खुसीमा तीजमा नाचगान मनोरञ्जन गर्ने गरिएको हो ।

तजको दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज समापन हुने चलन छ ।

अमेरिकाको न्युयोर्क सहरमा मनाइने तीजलाई प्रवासमा मनाइने सबैभन्दा ठुलो तीज कार्यक्रमको रुपमा समेत हर्ने गरिएको छ । अघिल्ला वर्षहरूमा पनि न्युयोर्कमा यस्ता तीज कार्यक्रम निरन्तर गरिंदै आएका थिए ।