न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण

सकुन ज्ञवाली, न्युयोर्क

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा जुन ६ तारिखका दिन अ ने सा स न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह ‘अन्तर्ध्वनि’ को भर्चुअल लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल लोकार्पण गरिएको ‘अन्तर्ध्वनि’ नेपाली साहित्य जगतमा नै पहिलो भर्चुअल्ली लोकार्पित कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पूनम काफ्लेका प्रकाशित कृतिहरू; भावना, छायाँ छवि, परदेशिएका पाईलाहरू, जून तारा, अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनिसम्म प्रकाशित हुन आएको छ । उक्त अवसरमा नेपाल निगमका महाबाणिज्य दूत पुष्पराज भट्टराई, अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अ ने सा स ट्रष्टी अध्यक्ष गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य, जगदिश उपाध्याय, पूर्ब च्याप्टर अध्यक्षहरु साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरु, सल्लाहकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे, राजन महर्जन, जानुका वस्ति ढकाल, मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम, पूर्व पदाधिकारी बेदा आचार्य ,साहित्यकार सिता खरेल, समालोचक रश्मि भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरुको पनि गरिमामय उपस्थित थियो । 

उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गरेका थिए । नेपालबाट अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्पराज भट्टराई, गीता खत्री, जगदिश उपाध्याय लगायत सबैले आ आफ्नो छोटो मिठो भावनाहरु व्यक्त गरेका थिए । अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा.मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीसवटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समबेदना, पुराना र नयाँ सोचको द्वन्द, रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पारेको थियो |

उपस्थित पूर्व अध्यक्षहरु लगायत च्याप्टरका सदस्यहरुले पनि सर्जकलाई बधाई एवम् शुभकामना दिई बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुसियाली व्यक्त गरेका थिए । सहभागीहरुले सर्जक काफ्लेको लेखन आख्यानमा अति उत्कृष्ट भएकोले नेपाली साहित्यमा उहाँको उपन्यास पनि छिट्टै पाउने आशा गरेका थिए। श्रस्टा पूनम काफ्लेका श्रीमान किरण काफ्लेले पनि उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सुनाएका थिए । सदाझैँ अ ने सा स न्यू योर्क च्याप्टरका महासचिब राजन महर्जनले रमाईलो बाताबरणमा कार्यक्रम संचालन गरेका थिए।

अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको सौम्य शालीन, सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित सवैलाई धन्यबाद दिदै दुइ घण्टे पुस्तक बिमोचन कार्यक्रम समापन गरेकी थिईन् ।