न्यूह्यामसर
न्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुती प्रशारण गरिएको थियो ।

स्तुती खतिवडाले ‘तिम्रो मायाले बाँधेर राख…’ गीत गितार बजाउँदै प्रस्तुत गरेकी थिइन् भने नेहा शर्मा, देव शर्मा, सुभन विष्ट, आहाना थापा, श्रेया खनाल नेपाली टेलिचलचित्र गिरे खुर्सानीको ‘प्यारोडी’ देखाएका थिए ।

रिञ्जु र रोजर शेर्पाले बास्केटबल खेलका केही कलात्मक ‘सट’हरु देखाएको कार्यक्रममा जुनिपर गुरुङ र दिशिता गुरुङले ‘भैलिनी आइन्…’ बोलको तिहार गीतमा नृत्य देखाएका थिए । नुर सिंह र श्रेया खनालले पनि ‘आज हाम्रो भेट भको दिन…’मा नृत्य नै देखाएका थिए भने सारा क्षेत्रीले जिम्न्याष्टिक खेलका कला प्रस्तुत गरेकी थिइन् ।

शीला अधिकारीले ‘डिस्कोवाले किसको…’ गितमा गायन र नृत्य प्रस्तुत गरेकी थिइन् भने समृद्धी अधिकारीले ‘ब्लाइन्डिङ लाइट्स…’ मा पियानो बजाएकी थिइन् । सुभन बिष्ट, देव शर्मा, नेहा शर्मा, आहाना थापा, स्पर्दा गुरुङ, स्तुती अधिकारी, आइशा केसी, रिचा थापा, गरिमा अधिकारी र कृती श्रेष्ठले ‘के माया लाग्छ र…’ र ‘दुबो फुल्यो…’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘घिन्ताङ घिन्ताङ…’ बोलको गीतमा कुशुम अर्यालले नृत्य देखाएका थिए ।

मोहित बिष्ट, देव शर्मा, विभव शर्मा र गौरव महर्जनले कार्यक्रममा फरक स्वाद पस्कने क्रममा खाना पकाउने कला देखाएका थिए भने निना सुवेदीद्ये ‘दि साइन्टिष्ट…’ मा गितार बजाएकी थिइन् ।

आहाना थापाले ‘सारङ्गीको धुनले …’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सुहानी कार्की र सन्सार कार्कीले गितार र पियानो मार्फत ‘असारै मैनामा …’ गीतको धुन सुनाएका थिए । शविन सुब्बाले ‘दिक्तेल बजार…’ गीत गाएको कार्यक्रममा स्तुती अधिकारीको नृत्य र देव शर्माको गितार बादनसँगै कार्यक्रम सकिएको थियो । एक घण्टा छ मिनेटको कार्यक्रम अहिले पनि न्यूह्यामसर नेपाली समाजको फेसबुक पेजमा हेर्न सकिन्छ ।

कार्यक्रमबाट करिव तीन हजार अमेरिकी डलर नगद समेत संकलन भएको छ । संकलित रकमबाट दूई हजार डलर नेपालमा कार्यरत मुनाफारहित संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख राउटे विद्यार्थीहरु लक्षित छात्राबासमा निर्माणाधिन भोजन गृहका लागि खर्च गर्नेछ ।

‘नेपाली भाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बर्धन गरोस भन्ने हाम्रो लक्ष्य हो’ भर्जुअल कार्यक्रमका लागि युवायुवतीलाई सल्लाह, सुझाव र अभिभावकत्व दिएकी न्यूह्यामसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले भनिन् । न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरुले नेपाली पहिचानलाई जोगाउँदै परोपकारी कामकोसमेत सुरुवात गरेकोमा सह्राना गरे ।