नाशुवा
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका एनसिसीको आयोजनामा न्यू ह्यामसायरको नाशुवा शहरमा अन्तराष्ट्रिय नारी दिवस उत्सव सम्पन्न भएको छ । एनआरएनए आइसिसी अध्यक्ष रविना थापाको प्रमुख आतिथ्यमा शनिबार नारी दिवस उत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा न्यूह्यामसायर दिदीवहिनीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा आइसिसी अध्यक्ष थापा, एनआरएनए अमेरिका एनसिसी अध्यक्ष बुद्धी सुवेदी, नाशुवा सिटीका मेयर जिम डोनचेस, एनआरएनए अमेरिका महिला संयोजक सुन्दरी गुरुङ, न्यूह्यामसायर नेपाली समाजकी अध्यक्ष शान्ता विष्ट लगायतले सम्बोधन गरेका गरेका थिए।

आइसिसी अध्यक्ष थापाले न्यूह्यामसायरमा रहेका दिदीवहिनीहरुले देखाएको एकता र सकृयता महिला सशक्तिकरणमा प्रेरणा बन्ने बताएकी थिइन् । एनसिसी अध्यक्ष सुवेदीले एनआरएनए अमेरिकाको विधान थप समावेशी बनाउँदै लगेको र आगामी कार्यसमितिमा कम्तिमा सात जना महिला निर्वाचित हुने व्यवस्था गरि सकिएको जानकारी दिए । साथै सल्लाहकारमा ३३ प्रतिशत महिला सिट सुनिश्चित गरिएको उनको भनाइ थियो ।

मेयर डोनचेसले अमेरिकाभरका नेपालीहरुलाई आफ्नो सहरमा स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संयोजन गरेकी एनसिसी महिला संयोजक गुरुङले अमेरिका भरका प्रतिनिधीलाई न्यू ह्यामसायरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा न्यूह्यामसायरमा रहि बिभिन्न क्षेत्रमा उन्नती गरेका महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको एउटा शत्रमा नेपाली नागरिकता निरन्तरता र सम्पत्तिको हकबारे बौद्धिक छलफल पनि भएको थियो ।

छलफलमा आइसिसी अध्यक्ष थापा, अधिवक्ता एवं एनसिसीका प्रमुख संरक्षक खगेन्द्र जिसी, एनसिसी अध्यक्ष सुवेदी आइसिसीको सिटिजनसिप एवं इमिग्रेसन कमिटी सदस्य डा रुद्र अर्याल एनसिसीका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्त नेपाल सरकारका पर्यटन दूत शिवकुमार राई सामाजीक अभियन्ताहरु सोम गुरुङ इश्वरी भट्ट रोविन थापा शम्भुकुमार गुरुङको सहभागिता रहेको थियो। एनसिसीका पूर्व बोर्ड सदस्य एवं नेपालको अन्तरिम संविधान मस्यौदा समिति सदस्य छत्रकुमारी गुरुङले सहजिकरण गरेको छलफल सत्रका सहभागिहरुले नेपाली नागरिकता निरन्तरताका लागि निरन्तर आवाज वुलन्द गर्नुपर्ने उल्लेख गरेका थिए ।



