म्यानचेष्टर
न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा रन गुरुङ, सुदिप पन्त, प्रदिप कार्की, राम श्रेष्ठ, एलिजा कार्की, जंग गुरुङ, शंकर श्रेष्ठ र मिङ्मा शेर्पा खापा चयन भएका छन् ।

नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई निर्वाचन समिति संयोगक शम्भु गुरुङले प्रमाणपत्र वितरण एवं सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष शान्ता विष्टले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै राज्यमा बसोबास गर्ने सबै नेपालीहरुलाई अझ बृहत दृष्टिबाट समेट्न सुझाव दिएका दिएकी थिइन् ।

नव निर्वाचित अध्यक्ष शेर्पाले न्यूह्यासायरमा बसोबास गर्ने सबै उमेर, वर्ग, क्षेत्र, एवं पेशाका नेपालीहरुलाई समेट्ने एवं अग्रजहरुको सर सल्लाह बमोजिम समाजलाई अझ गतिशिल र प्रभावशाली बनाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए । ‘संस्थाले जुन उचाइ हासिल गरेको छ त्यसलाई खुम्चिन नदिइ अझ व्यापक बनाउने हाम्रो प्रयन्त रहनेछ’ शेर्पाको भनाइ थियो ।

संस्थाका पूर्व अध्यक्षहरु मिन गौतम, रोविन थापा, सोम गुरुङले नयाँ कार्यसमितिलाई सुझाव एवं हौसला प्रदान गरेका थिए । गैर आवासीय नेपाली संघ अमेरिका न्यूह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुङ्गाना, गुरुङ समाज न्यूह्यामसायरका महासचिव विकास गुरुङ एवं नेपाल सरकारका अवैतिक पर्यटन दूत शिव राईले पनि संस्थाको उत्तरोत्तर प्रगतिको कामना समितको मन्तव्य व्यक्त गरेका थिए ।

निर्वाचन प्रकृयाभन्दा अगाडि समाजका निवर्तमान महासचिव माधव गुरुङले पेश गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष भेषराज शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको थियो । सन् २०१० मा स्थापित संस्थाले राज्यमा बसोबास गर्ने नेपालीहरुलाई समेटेर दशैं, तिहार, नेपाली नयाँबर्ष, तीज जस्ता उत्सव सामुहिक रुपले मनाउँदै आएको छ भने बिभिन्न समयमा खेलकुद एवं सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ ।


