काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेपछि सजायको मक्सद पूरा हुने फैसला आएपछि गत वर्ष छुटेका थिए ।
तर बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएको हो । अब उनी साढे ११ वर्ष जेल बस्नुपर्छ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने भएको छ । त्यसपछि उनी पुनः कारागार चलान हुने प्रावधान रहेको छ ।
कोइरालाले सशस्त्र प्रहरीको डीआईजी रहेका बेला २७ पुस २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।
पारिवारिक सम्बन्ध बिग्रिँदै गएपछि छुट्टिएर बस्न थालेका रञ्जनले सम्बन्ध विच्छेदका लागि दबाव दिँदै अंश चलनको मुद्दा हालेका थिए । गीताले माना चामल मुद्दा हालेकी थिइन् । गीता बुढानीकण्ठमा बस्दै आएकी थिइन् । रञ्जन नेशनल डिफेन्स कोर्स गर्न चीन गएका थिए । पुस तेस्रो साता नेपाल आएका रञ्जुन २७ गते गीताको घर पुगेर कान्छो छोरा लिएर हिँडेका थिए, त्यसपछि गीताले माइतीलाई जानकारी गराएकी थिइन् । त्यसपछि गीता माइतीको सम्पर्कबाट टाढा भइन् ।
छोरी सम्पर्कविहीन भएपछि उनका बाबु हरेराम ढकालले ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने ठाउँमा शव जलाएको पुष्टि भएको थियो । ८ माघमा पक्राउ परेका कोइरालालाई झण्डै २ वर्षपछि जिल्ला अदालत, काठमाडौंले जन्मकैदको फैसला सुनाएको हो ।