पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनमा अलगअलग प्यानल बनेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी छन् ।

चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको छ । महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी गरेको छ ।
सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ । गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको छ ।

यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ । महासचिवमा लेखनाथ न्यौपाने उम्मेदवार छन् । यो प्यानलको सचिवहरुमा उत्तर बिष्ट (खुला), सिर्जन झा (मधेशी), सरिता बराईली (दलित), भीषण राई (आदिवासी जनजाति) र विकास कार्की (एशोसियट) उम्मेदवार छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुब रावलको उम्मेदवारी परेको छ ।